फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक जारी छ। शनिबारदेखि सुरु भएको बैठकमा पार्टीका 'सम्मानित नेता' झलनाथ खनालले एमालेबाट विद्रोह गर्नुपर्नाका १० कारण प्रस्तुत गरेका छन्।
उनले एमालेबाट विद्रोह गर्नुपर्नाका कारणहरु आफ्नो पार्टीको तल्लो पंक्तिसम्म राम्रो ढंगले विस्तार हुन नसकेको भन्दै कारणहरु व्यक्त गरेका हुन्। उनले प्रस्तुत गरेका कारणहरु यस्ता छन्-
एक - पार्टीको नेतृत्व दक्षिणपन्थी अवसरवादी गुटले कब्जा गरेको हुनाले।
दुई - त्यसले पार्टीव्यापी रुपमा गुटवादी क्रियाकलाप मात्र सञ्चालन गरेको हुनाले।
तीन- पार्टीको वैचारिक राजनीतिक सैद्धान्तिक विकास र रुपान्तरण ठप्प भएको हुनाले।
चार- पार्टीव्यापी रुपमा व्यक्ति स्वार्थ, पदलोलुपता, आफ्नो गुटलाई मात्रै पक्षपोषण गर्ने र अन्य कार्यकर्तालाई पाखा लगाउने काम हुँदै गएकोले।
पाँच- मुलुक समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आएको कुरालाई अस्वीकार गरेको हुनाले।
छ - नेपाली जनताले विगत चुनावमा दिएको दुई तिहाइको बहुमतलाई पटकपटक लत्याएको हुनाले।
सात - एकीकृत भइसकेको पार्टीलाई उत्प्रेषणको आदेशबमोजिम फेरि विभाजन गरेको हुनाले र विभाजित एमालेलाई त्यो गुटले आफ्नो बपौती जस्तो बनाएको हुनाले।
आठ - नेपाली क्रान्तिका बारेमा, नेपाली समाजको चरित्रको बारेमा, अब पार्टीको लक्ष्य के हो भन्ने बारेमा, पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्तको बारेमा पूर्णरुपले दक्षिणपन्थी विश्लेषण अगाडि सारेको हुनाले।
नौ- एमाले नेतृत्व गुटको नेतृत्वमा समाजवादको दिशामा अगाडि बढ्न असम्भव भएकोले।
दश - माथि उल्लेख भएबाहेक अरु पनि साना मसिना थुप्रो कुराहरु छन्। विधि पद्दतिलाई नमानेको, कार्यशैली, कार्यपद्दति, बैठकले गरेका निर्णय अस्वीकार गरेको लगायतका कुराहरु छन्। र, पार्टी नेतृत्वलाई नमानेको। पार्टीले सरकार बनाउने र सरकार बनाइसकेपछि पार्टीको नेतृत्वलाई पूरै अस्वीकार गर्ने। पार्टीका नीति निर्देशन नमान्ने। पार्टीले अघि सारेको घोषणापत्र नमान्ने। यस्ता थुप्रो अन्य कारणहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।