फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट संघ र प्रदेशमामन्त्री तथा मुख्यमन्त्री भएकाहरुलाई विवादास्पद काम नगर्न निर्देशन दिएका छन्। शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले मन्त्रीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न भनेका हुन्।
उनले मन्त्री तथा मुख्यमन्त्रीहरुले आफ्नो क्षेत्रमा भएको साधन र स्रोत उचित प्रयोग गरी जनतालाई बढीभन्दा बढी सेवा सुविधा दिनुपर्ने, सुशासन कायम गर्नुपर्ने र नयाँनयाँ काम गरी पार्टीप्रति सकारात्मक छाप छाड्न मेहनत गर्नुपर्ने बताए। 'हाम्रा मन्त्री तथा मुख्यमन्त्रीहरुले कुनै पनि विवादास्पद काम नगर्नुहोस्। यसो गरिएको सुन्नु नपरोस्। हाम्रो कामना छ,' उनले भने।
अध्यक्ष नेपालले संविधान र लोकतन्त्र जोगाउन आफूहरुले आफूहरुकै पहलमा वर्तमान गठबन्धन बनेको बताए। 'कतिपय कानुनी जटिलताका कारण हाम्रो पार्टीले आकार लिन र दर्ता हुन समय लाग्यो। तर, ढिलै भए पनि हामी संघीय सरकारमा सहभागी हुन सफल भएका छौं,' उनले भने।
उनले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाएको र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकारमा सहभागी भएको बताउँदै अब छिट्टै प्रदेश २ को सरकारमा पनि आफूहरुको सहभागिता हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।