काठमाडौं- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका अजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको छ। शुक्रबार स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले केन्द्रीय कमिटी बैठकका अजेण्डा पारित भएको बताए।
पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको उनले बताए। उपमहासचिव तुलाधरले केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउनेदेखि अन्य अजेण्डा रहेको जानकारी दिए।
बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ। ‘केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष र सम्मानित नेताले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ,’ उनले भने, ‘त्यसैगरी संघीय मन्त्री र प्रदेश १ तथा बागमतीका मुख्यमन्त्रीले पनि आफ्नो कार्ययोजना पेस गर्नुहुनेछ।’
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा उत्साहजनक रुपमा नेता कार्यकर्ताहरु आउने क्रम रहेको भन्दै अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए।
केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेशको तर्फबाट त्यहाँका इन्चार्जले प्रदेशको अवस्थाका बारेमा रिपोर्टिङ पनि गर्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।