काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमण पूरा गरेर शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन्।
गत मंगलबार भारतमा निस्किएका शर्माले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी (प्रमुख)को दर्ज्यानी प्रदान गरेका थिए।
नेपाल र भारतका सेना प्रमुखहरु एक अर्को देशको मानार्थ महारथी रहने सैनिक प्रचलन रहिआएको छ।
भारतमा रहँदा प्रधानसेनापति शर्माले रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग शिष्टाचार भेट गरेका थिए।
भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको निमन्त्रणामा गएका उनले सेनाका अन्य अधिकारीहरुसँग समेत भेटवार्ता गरेका थिए।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्माको भ्रमणबाट नेपाल र भारतका सेनाबीचको सम्बन्ध थप सुदृढ बन्ने तथा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण बन्ने विज्ञप्तिमार्फत् जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।