काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले परित्याग गरी आफ्नो पार्टी प्रवेश गर्नेहरुको लहर चलेको दाबी गरेका छन्। एमालेसहित विभिन्न पार्टी छाडेर एकीकृत समाजवादी रोज्ने लहर चलेको नेपालको भनाइ छ।
शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको सिलसिला नै चलेको बताए।
अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटी नै एकीकृत समाजवादीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको बताए। नेपालले अन्य पार्टीसँग पनि एकीकृत समाजवादीमा एकतावद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए।
नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
'हाम्रो विपक्षमा केपी गुट पूरै लागि परेको छ। र, उसले अनावश्यक आरोप लगाइरहेको छ। झुटा प्रचार गरिरहेको छ,' नेपालले भने, 'यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने पनि बताए। राष्ट्रियसभाको निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाको उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको नेपालले जानकारी दिए।
सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरुले सत्तारुढ दलबीच समन्वय समिति बनाउनु परेको उनले स्पष्ट पारे। समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने नेपालको भनाइ छ।
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। तीनै तहको निर्वाचन एकैपटक गर्ने आफूहरुले सोच बनाए पनि त्यसरी गर्न कानुन, नियमले मिल्ने/नमिल्ने छलफल गरेर अघि बढ्ने नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।