काठमाडौं- नेपाल बार एसोसियसनले शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाएको छ। बारको कार्यालयबाट प्रवेश गर्ने ढोकासमेत बन्द गरिएकोप्रति बारे अपात्ति प्रकट गरेको छ।
बारका महासचिव लिलामणी पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अदालत प्रशासनको यस्तो कार्यले प्रधानन्यायाधीशको राजीनामा माग गर्ने औचित्य पुष्टि गरेको टिप्पणी गरेका छन्।
न्यायपालिकाको विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारलगायत नियन्त्रण गरी समग्र सुधारका लागि वर्तमान प्रधानन्यायाधीश बाधक देखिएकोले राजीनामा माग गरी कात्तिक १४ गतेदेखि सुरु गरेको शान्तिपूर्ण विरोध कार्यक्रमलाई अवरोध गर्ने प्रयास भएको बारको आरोप छ। ‘शुक्रबार बिन ९:३० बजेदेखि अदालत प्राङ्गणमा गर्न लागिएको शान्तिपूर्ण विरोध सभा कार्यक्रमलाई अवरोध गर्ने उदेश्यले अदालत परिसरलाई सशस्त्र प्रहरीको ब्यारेकजस्तो बनाइ नेपाल बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने ढोका र सर्वोच्च अदालतको मूल ढोकासमेत बन्द गरिएकोप्रति नेपाल बार एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना न्यायपालिकामा न्यायपालिका प्रमुख र प्रशासकीय प्रमुखसमेतको ठाडो आदेशबाट हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय कार्य हो।’
बारको विज्ञप्तिमा थप भनिएको छ, ‘सधैँ कलम र आवाज लिएर अदालतको सहयोगी अदालतको अधिकृतसरह भइ अदालत, इजलासलाई लिखत मस्यौदा र आफ्नो बहस पैरवीमार्फत् न्याय सम्पादन कार्यमा सहयोग गर्ने कानुन व्यवसायीहरुलाई बार-बेञ्च एक सिक्काका दुई पाटा भन्ने सर्वमान्य मान्यताविपरीत हतियारसहितका दङ्गा प्रहरी प्रयोग गरी ढोका बन्द गर्न उद्धत रहेको हामीलाई महसुस भएको छ।’
प्रधानन्यायाधीश र सर्वोच्च अदालत प्रशासनको यो कार्य कुनै अर्थमा पनि उचित मान्न नसकिने बारको टिप्पणी छ। ‘यो घटनाले नेपालको न्यायपालिकाको छवि नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि धुमिल हुन गएको छ,’ बारको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट पनि न्यायपालिका प्रमुखको तत्काल राजीनामाको औचित्य थप पुष्टि भएको छ। तसर्थ, अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाइयोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।