काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्रको विवाद चाँडो समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको सीमाका कारण न्यायपालिकाको विवादमा सरकार प्रवेश गर्न नमिल्ने बताए।
'न्यायपालिकाको विवादभित्र पस्न विलकुल मिल्दैन। संविधानले तोकेका सीमालाई हामी सम्मान गर्छौं। यो स्वतन्त्र न्यायापालिकाभित्रको समस्या हो, र यसलाई स्वतन्त्र न्यायपालिकाभित्रकै पक्षहरु बसेर छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्छ,' मन्त्री बडुले भने।
तत्काल विवाद नटुङ्ग्याउँदा जनताको न्याय पाउने अधिकार कुण्ठित हुँदै जाने र यो सबै जनता र सरकारकोसमेत सरोकारको विषय बन्ने उनले बताए। 'बेञ्च बस्ने, फैसला हुने प्रक्रिया छिटो सुचारु होस्। त्यसो नहुँदा सेवाग्राहीले न्याय नपाउँदाको परिस्थितिमा उनीहरुको सरोकार बन्छ। त्यो सरोकार फेरि सरकारको पनि सरोकार बन्ला नि त जनताको विषय त! त्यसकारण त्यो समस्यालाई छिटो समाधान गर्न हामीले आग्रह गरेका छौं। हामी हेरेर बसेका छैनौं,' उनले भने।
आफूले समस्या समाधानका लागि सरोकारवाला सबैसँग भेटघाट गरिरहेको उल्लेख गर्दै मन्त्री बडुले उनीहरुको कुरा सुनेर समाधानका निमित उनीहरुलाई नै आग्रह गरिरहेको बताए। 'यो परिस्थितिमा हामी सरकारले पनि यो छिटो समाधान होस् अन्यथा यसले ल्याउने परिणाम सबैको सरोकारभित्र आउँछ भनिरहेका छौं,' उनले भने , 'त्यस कारण हामीले नजिकबाट हेरिरहेका छौं। र, छिटो समाधान होस् भन्ने अपेक्षा गरेका छौं।'
न्यायपालिकाभित्रको विवाद धेरै समय तानिँदाको परिणाममा सबै तानिने उनले बताए। यसबाट कुनै अप्रिय अवस्था सिर्जना गर्न दिन नहुनेमा उनले जोड दिए। 'हामीले बेञ्च, बारसहित तीनै पक्ष तथा न्यायपालिकाभित्रै बनेको समन्वय समिति बसेर छिटोभन्दा छिटो समाधान गरिनुपर्छ भन्ने आग्रह गरेका छौं,' उनले दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।