काठमाडौं- नेपाली कांग्रेस डडेलधुराका जिल्ला सभापति कर्णबहादुर मल्लको टोलीले जिल्लामा पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि थप पहल गरिदिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको ध्यानाकर्षण गरेको छ।
मल्लको टोलीले पौडेलपक्षको बैठक बसिरहेको स्थल बत्तीसपुतली पुगेर उक्त विषयमा ध्यानाकर्षण गराएको हो। नेताहरुलाई ध्यानाकर्षण गराएपछि सभापति मल्लले भने, '७६ जिल्लाको अवस्था र डडेलधुराको अवस्था फरक छ। अरु जिल्लामा एक किसिमले अधिवेशन भइरहेको छ। हाम्रो जिल्लामा अर्को किसिमले अधिवेशन गरियो।'
डडेलधुरामा भएको एकतर्फी अधिवेशनका बारेमा थप पहल गरिदिन आग्रह गरिएको मल्लले बताए। पदाधिकारी र केन्द्रीय समितिको बैठकमा उक्त विषयलाई उठाउने नेताहरुले वचन दिएका थिए।
संस्थापनइतरको असहमति हुँदाहुँदै सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एक पक्षीय अधिवेशन गरिएको थियो। वडा र पालिका अधिवेशन एकपक्षीय गरिएको उक्त समूहको भनाइ छ।
मल्लपक्षले अधिवेशन रद्द गर्न माग गर्दै आएको छ। आफूहरुको माग सम्बोधन नभए केन्द्रीय कार्यालयमा धर्ना र अनसन गर्ने तयारी गरिएको सभापति मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।