काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै 'आन्दोलन'मा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन्।
शुक्रबार प्रधानन्यायाधीश राणाले आफू बाहेकका ८ वटा इजलास गठन गरेका थिए। राणाले न्यायाधीश हरिकृष्ण कार्कीको एउटा मात्रै एकल र अन्य ७ वटा संयुक्त इजलास गठन गरेका थिए।
राणाले शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरणका रिटसहित अन्य मुद्दा पनि सुनुवाइका लागि पेसी तोकेका थिए। तर, न्यायाधीशहरुले भने बन्दीका मुद्दा समेत हेरेनन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक ७ गतेदेखि आन्दोलन थालेका न्यायाधीशहरुले यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने निर्णय गरेका थिए।
शुक्रबार न्यायाधीश न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीका लागि इजलास तोकिएको थियो।
तर, नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कारण न्यायाधीशहरु इजलासमा पुगेनन्।
कानुन व्यवसायीको धर्नाका कारण प्रधान्यायाधीश राणा पनि शुक्रबार बिहान १०:५० बजेतिर मात्रै सर्वोच्च पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।