बागचौर नगरपालिका कार्यालय।
काठमाडौं- संविधान जारी भएपछि पहिलोपटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एउटा नारा खुबै चर्चित बन्यो- गाउँगाउँमा सिंहदरबार!
नागरिकलाई गाउँमै सेवा प्रदान गर्ने आश्वासन दिँदै नेताहरूले हरेक भाषणमा यो नारा दोहोर्याइरहे। निर्वाचन सम्पन्न भयो। ७५३ वटै स्थानीय तह र तिनका सबै वडामा जतप्रतिनिधि चुनिए।
यो चार वर्षको अवधिमा नागरिकले नेताहरूले भनेझैं घरछेउमै सरकारी सुविधा पाए/पाएनन्, त्यो समीक्षाको विषय हो नै तर, जनप्रतिनिधिप्रति नागरिकको गुनासो र आक्रोश भने चुलिँदो छ। त्यसैको पछिल्लो उदाहरण हो, सल्यानको बागचौर नगरपालिका-४।
बागचौर-४, सिमाखोलीका दिलबहादुर केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश पोख्दै वडाध्यक्ष र वडा सदस्यलाई 'छोटे राजा' भनेपछि वडाध्यक्ष प्रेमबहादुर पुनले उनलाई वडाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने भन्दै चेतावनीयुक्त विज्ञप्ति जारी गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै वडाध्यक्ष पुनले केसीले कमजोरी नसच्याएसम्म वडा कार्यालयको तर्फबाट दिइने सम्पूर्ण सेवामा वञ्चित गरिने उल्लेख गरेका छन्।
'वडाध्यक्ष र वडा सदस्यजनप्रतिनिधि समेतलाई छोटे राजाको दमनको संज्ञा दिइ सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या गर्ने अनावश्यक शब्द आरोपहरू लगाई भ्रमित पार्ने काम गरेकोले..' सेवा बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
केसीले आफूले जनप्रतिनिधिलाई छोटे राजा भनेर लेखेको स्वीकार गरेका छन्। उनका अनुसार यसका पछाडिको कारण भने बेग्लै छ। केसीका भाइले गत वर्ष माघ १४ गते वडाध्यक्षको नातिनी र वडा सदस्यको भतिजी नाता पर्ने युवतीसँग बिहे गरेका थिए। बिहेपछि भाइ-बुहारीको सम्बन्ध राम्रै रहेको केसी बताउँछन्।
गत साउनमा उनकी भाइबुहारी 'साउन बार्न' माइती गएकी थिइन्। त्यतिबेला भाइलाई ससुराली पक्षले बोलाएर कुटपिट गरेको केसीको भनाइ छ।
पछि बिहे भएको सात महिनापछि माइती पक्षले बिहे भएकै दिनको मिति (१४ माघ २०७७) राखेर भाइविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको केसीले बताए। लगत्तै पक्राउ परेका केसीका भाइ पुर्पक्षका लागि जिल्ला कारागार सल्यानमा छन्।
यही विषयलाई लिएर केसीले आफ्नो भाइलाई वडा सदस्य र वडाध्यक्षको योजनाअनुसार फसाइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा छोटे राजाको संज्ञा दिएका थिए। नेपाल लाइभसँको टेलिफोन कुराकानीमा केसीले पैसाको बार्गेनिङ नमिल्दा भाइलाई बलात्कारको मुद्दा चलाइएको बताए। त्यसपछि आफूले फेसबुकमा लेखेको केसी दाबी गर्छन्।
यता वडाध्यक्ष पुनले पनि आफैंले विज्ञप्ति जारी गरेको स्वीकार गरे। आफूहरूविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेपछि चेतावनीस्वरुप विज्ञप्ति जारी गरेको उनले नेपाल लाइभलाई बताए।
यसरी संविधानविपरीतको काम गरेर नागरिकलाई मौलिक हकबाट वञ्चित गर्न मिल्छ? भन्ने प्रश्नमा उनले विज्ञप्ति फिर्ता लिन सकिने बताए। उनले आफ्नो कार्यको बचाउ गरे।
'सेवाबाटै वञ्चित नै त किन गर्थेँ र! चेतावनीका लागि विज्ञप्ति निकालेको हुँ। सबैतिरबाट यस्तै कुरा आएको छ। अब फिर्ता लिन सकिन्छ', वडाध्यक्ष पुनले भने। उनले केसीका भाइविरुद्ध आफूहरूले कुनै काम नगरेको दाबी गरे।
'मुद्दा उसैको श्रीमतीले गरेकी हुन्। हामीले दबाब दिएको होइन। मुद्दा अदालतमा छ। यसमा हामीलाई मुछेर जथाभावी गाली गरेपछि चेतावनीस्वरुप विज्ञप्ति निकालेका हौं', वडाध्यक्ष पुनले थपे।
वडाध्यक्षले जारी गरेको विज्ञप्ति।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।