काठमाडौं- वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अब पदच्युतको बाटोमा जाने कि सम्मानजनक विदाइ हुने भन्ने प्रश्न रहेको बताएका छन्।
शुक्रबार नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालत घेराउपछिको कोण सभामा वरिष्ठ अधिवक्ता दाहालले राणा प्रधानन्यायाधीशबाट हट्नुको विकल्प नभएको बताएका हुन्।
उनले कानुन व्यवसायीहरु आफ्नो पेशा भन्दा बाहिर गलत काम तिर लाग्न नहुने बताए।
'अब पदच्युदको बाटोमा जाने कि सम्मानजनक विदाइ हुने हो भन्ने मात्र बाँकी छ' दाहालले भने।
प्रधानन्यायाधीशका बारेमा राजनीतिक दलहरु मौनता तोड्न वाध्य हुने उनले बताए।
यस्तै अवस्था रह्यो भने नेपाल बारको आन्दोलन सरकारको अकर्ममण्यतामा पनि केन्द्रित हुने उनले बताए।
'आज गिरफ्तार वा हस्तक्षेप भएको भए राणासहित सरकार विरुद्धको आन्दोलन हुने थियो,' उनले भने, 'कानुन व्यवसायीका बीचमा विभाजन छैन। यहाँ पीपीएल, डीएलए लगायत सबैसँगै आन्दोलनमा छौं आन्दोलन गन्तव्यमा नपुगेसम्म सर्वोच्चको गेटमा धर्ना दिन जरुरी छ।'
प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै नेपाल बारले अदालत बाहिर धर्ना दिएको थियो तर प्रधानन्यायाधीश राणा भने महान्यायाधिवक्ता कार्यालयको वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।