काठमाडौं– कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। न्यायालयमा देखिएको समस्या समाधानका लागि बडुले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेसनिकट कानुन व्यवसायी, सांसदहरु, महान्यायाधिवक्ता तथा सर्वोच्च बारका पदाधिकारीसमक्ष कानुनमन्त्री बडुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही अनुरुप बिहान बडु बालुवाटार पुगेका थिए।
कात्तिक ८ गते सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा सर्वोच्च अदालतकै न्यायाधीशहरु समेत छन्। आन्दोलनका क्रममा हालसम्म कुनै निकास निस्कन नसकेको र न्यायालय झन् विवादित हुँदै गएपछि मन्त्री बडुले विकसित पछिल्लो परिस्थितिको बारेमा बिहीबार छलफल गरेका थिए।
छलफलमा राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, महान्यायाधिवक्ता खम्बबहादुर खाती, नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित सर्वोच्च बारका पदाधिकारीसमेत सहभागी थिए।
अदालतलाई सेटिङमा चलाएको, भ्रष्टाचार घटाउनुपर्नेमा झन् प्रश्रय दिएको, आफ्ना भाइमार्फत अदालतमा बिचौलिया राज बढाएको र रञ्जन कोइरालाको जस्ता धेरै मुद्दामा बदनियतपूर्वक फैसला गरेकाले सर्वोच्चकै न्यायाधीश र बार प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।