काठमाडौं- कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएसँगै शुक्रबार सर्वोच्च अदालत परिसर तनावग्रस्त बन्यो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै सर्वोच्च बाहिर भेला भएका कानुन व्यवसायी र राणा पक्षधर कानुन व्यवसायीबीच झडपको अवस्थासमेत बन्यो।
आन्दोलन हुने भएसँगै शुक्रबार विहानैबाट सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। यसअघि नेपाल बार एसोसिएसन तिरबाट समेत सर्वोच्च अदालत प्रवेश गर्न दिइने गरेकोमा आज उक्त गेट बन्द गर्दै कानुन व्यवसायीहरुलाई मूल गेट तर्फबाट जाने व्यवस्था गरिएको थियो। तर, प्रहरीले सर्वोच्च भित्र प्रवेशमा कडाइ गरेको थियो।
सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र अदालत प्रवेशमा कडाइ गरेपछि पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले धर्नास्थलबाट गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरि अदालत परिसरबाट प्रहरी हटाउन निर्देशन दिन आग्रह गरेका छन्।
गृहमन्त्री खाणलाई उनले अदालत कानुन व्यवसायीबाट असुरक्षित नहुने र प्रहरी परिचालन गर्न आवश्यक नभएको बताएका थिए।
'अदालत कानुन व्यवसायीबाट असुरक्षित हुँदैन। प्रहरी परिचालन गरेर अदालत प्रवेशमा रोक्ने काम भद्दा मजाक भयो। आधा घण्टाभित्र हटाउन आदेश दिनुस्' कार्कीले गृहमन्त्री खाडलाई फोन गर्दै भने।
प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेटमा धर्नामा बसेका भएपनि राणा भने महान्यायाधिवक्ताको कार्यालय तिरबाट अदालत प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।