काठमाडौं– सत्तारुढ दलका उच्च तहका नेताहरु सम्मिलित संयन्त्र गठनप्रति सरकारको नेतृत्वकर्ता कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर संयन्त्रको औचित्य नरहेको बताएका हुन्। बिहीबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका निधिले संयन्त्र गठनप्रति असन्तुष्टि जनाएका थिए।
निधिले शीर्ष नेता सम्मिलित संयन्त्रको आवश्यकता नरहेको बताएका थिए। उक्त संयन्त्रको अवधि राष्ट्रिय सभाको उप निर्वाचन बेलासम्म हुने देउवाले निधिलाई आश्वस्त पारेका थिए।
संयन्त्रप्रति सत्ता नेतृत्वकर्ता दलभित्रै प्रश्न उठेपछि यसको प्रभावकारिता नहुने आशंका उब्जिएको छ। गठबन्धनका दलहरु बीच सम्बन्ध निकट राख्न तथा सहकार्य गरेर जाने उद्देश्यले संयन्त्र बनाइएको छ। आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने उद्देश्यसमेत राखिएको छ। तर, कांग्रेस भित्र आउँदो निर्वाचनमा तालमेल गर्न हुँदैन भन्ने आवाज बढ्दै गएको छ। उक्त विषय उपसभापति निधिले सभापति देउवालाई सुनाएका छन्। कांग्रेसले दलहरुसँग तालमेल नगरी चुनावमा जानुपर्ने निधिको भनाइ छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको उक्त संयन्त्रमा नेता कृष्णप्रसाद सिटौला सदस्य छन्। सरकारसँग समन्वय गर्न सहज बनाउने उद्देश्यले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई संयन्त्रमा सहभागी बनाइएको छ।
माओवादी केन्द्रबाट अध्यक्ष पुषपकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल संयन्त्रका सदस्य बनेका छन्।
एकीकृत समाजवादी र जसपाबाट एक/एक सदस्य पछि थप्ने बताइएको छ। संयन्त्रको संयोजक २/२ महिनामा आलोपालो गर्ने दलहरु बीच सहमति बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।