काठमाडौं– नेकपा मालेका महासचिव चन्द्रप्रकाश (सीपी) मैनालीले पार्टी नेतृत्व सम्हाल्न कुनै नेता तयार भए आफू नेतृत्व छोड्न तयार भएको बताएका छन्।
शनिबारदेखि सुरु हुने पार्टीको ८ औं महाधिवेशनले नयाँ नेतृत्व दिन सक्ने अवस्था भए आफू नेतृत्व छाड्न तयार भएको मैनालीको भनाइ छ।
नेपाल लाइभसँग कुरा गर्दै मैनालीले भने, ‘पार्टीमा नेतृत्व गर्न कोही आए सल्लाहकार भएर अरु साथीहरुलाई नेतृत्व छोड्न तयार छु। त्यसो हुँदा औधी खुसी हुने थिए।’
२०५६ सालमा नेकपा एमाले विभाजन भएपछि गठन भएको नेकपा मालेमा तत्कालीन अवस्थामा मैनाली स्थायी कमिटी सदस्य मात्रै थिए। पछि २०५८ सालमा वामदेव गौतम एमालेमै फर्किएपछि मैनाली महासचिव बनेका थिए।
२०५८ सालदेखि मैनाली नै मालेको महासचिव छन्।
मालेको ८ औं महाधिवेशन शनिबारदेखि चितवनमा सुरु हुँदै छ। भरतपुरस्थित कला मन्दिरमा शनिबार उद्घाटन समारोह छ।
मालेको महाधिवेशन मंगलबार सकिने जनाइएको छ। ५ वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले मालेले गुपचुप रुपमा ८ औं महाधिवेशन सम्पन्न गर्न लागेको हो।
लामो समय पार्टीको नेतृत्वमा रहेको भनेर आफ्नो आलोचना हुने गरेको भएपनि पार्टीमा भने नेतृत्वका लागि कोही पनि अग्रसर नभएको मैनालीको दुखेसो छ।
‘राजनीतिक र वैचारिक रुपमा स्पष्ट भिजन भएको नेता तयार पनि हुँदै होलान्। अहिले नै कोही त्यस्तो नेता तयार भएर आउँछन् भने म नेतृत्व छाड्न तयार छु,' मैनाली भन्छन्।
यद्यपि पार्टी नेतृत्व जनताबाट खारिएर आउनुपर्ने उनको भनाइ छ।
‘तपाईंले सोधेकै समयमा नेतृत्व हस्तान्तरण गर्न तयार छु। कमरेडहरुले तपाईंले नै दाबी गर्नुस् भनिरहेको हुनाले फेरि नेतृत्वमा आउन खाजेको हुँ,’ मैनालीले भने, ‘फेरि योङ हुँदा नेतृत्व सक्रिय हुने, बुढो हुँदा काम नलाग्ने हुँदैन। पार्टी नेतृत्वमा आउन राजनीतिक र वैचारिक रुपमा खारिएर आउनु पर्छ। तब मात्रै कम्युनिस्ट पार्टीको नृतत्व गर्न सक्षम हुन्छ।’
उम्मेरले ७२ वर्ष पुगेपनि आफूमा पार्टी नेतृत्व गर्न सक्ने स्पष्ट राजनीतिक र वैचारिक क्षमता भएको मैनालीले दाबी गरे।
नेपालको ७२ वर्ष कम्युनिस्ट आन्दोलनको समीक्षा गर्नुका साथै आगामी कार्यदिशाका विषयमा समेत महाधिवेसनमा छलफल हुने मैनालीले बताए।
‘नेपालको कम्युनिस्ट आन्दोलन ७२ वर्ष पुगेको छ। कम्युनिस्ट पार्टी स्थापनाका संस्थापकलाई धन्यवाद दिँदै पार्टीका आगामी कार्यदिशाका विषयमा छलफल गर्ने छौं,’ मैनालीले भने, ‘आगामी चुनावमा पार्टीको घोषणापत्र अनुसार चुनावी तालमेल कुन कुन पार्टीसँग गर्ने निर्धारण हुने छ। अन्य कम्युनिस्ट घटकसँग एकता गर्न तत्काल सम्भव पनि छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।