काठमाडौं- स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहिबार भेटघाट भएको छ।
निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिबर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका बिषयमा छलफल गरेको थियो।
नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग बिस्तार गर्न आग्रह गरे। साथै, निधिले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरे।
जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराइन्।
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश १ का जिल्लाहरुमा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।