काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
बिहीबार मात्र सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुको बैठक बोलाएका थिए। त्यसलगत्तै देउवाइतर पक्षले पनि छुट्टै बैठक डाकेको हो। बैठक शुक्रबार दिउँसो बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्ने छ।
उक्त बैठकमा काठमाडौंमा उपलब्ध हुने पौडेल पक्षीय सबै नेताहरु सहभागी हुने बताइएको छ।
बैठकमा आसन्न महाधिवेशन र आफूनिकटबाट सभापतिमा एकल उम्मेदवार उठाउनेबारे छलफल हुने एक नेताले बताए। साथै, शनिबार सुरु हुने १३ जिल्लाको अधिवेशन प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ। कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।