काठमाडौं- नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बढ्दो महंगी र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
नेकपाले मूल्य वृद्धि तत्काल खारेज गर्न माग गरेको छ। प्रदर्शनका क्रममा नेकपाले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने नारासहित प्रदर्शन गरेको हो। महँगी र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध आजै नेकपाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
नेकपाका महासचिव विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा देशव्यापी विरोध प्रदर्शनदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेका हुन्।
मूल्य वृद्धिविरुद्ध नेकपाले २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने तथा ३० गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल आयल निगमले पछिल्लो १० दिनमा इन्धनको मूल्य दुई पटक बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले थप ७५ रुपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।