काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणना–२०७८ मा आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन्।
राष्ट्रिय जनगणनाका लागि उपराष्ट्रपति र उनको पारिवारिक सदस्यको विवरण संकलन गर्न बिहीबार अपरान्ह १ बजे उपराष्ट्रपति भवन, हरितगृह, लैनचौर पुगेका राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङक विभागका पदाधिकारीहरुलाई उपराष्ट्रपति पुनले आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन्।
उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकको रुपमा उपस्थित भएका थिए। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सहसचिव डा. किरण रुपाखेती लगायत पनि उपराष्ट्रपति कार्यालय पुगेका थिए।
गणकले सोधेको प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना २०७८ को सफलताको शुभकामना दिए।
उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास समेत व्यक्त गरे।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।