काठमाडौं- नेकपा एमालेका संगठित सदस्यको संख्या आठ लाख भन्दा बढी पुगेको छ। पार्टीको दशौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा संगठित सदस्यको संख्या आठ लाख भन्दा बढी पुगेको हो।
केन्द्रीय सदस्य एवं एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबारसम्म पार्टीको देशैभर संगठित सदस्यको संख्या आठ लाख भन्दा बढी भएको जानकारी दिए।
‘आठ लाख भन्दा बढी सदस्य पुगेका छन्। कात्तिक २७ सम्म मात्रै हामी अहिलेलाई अपडेट गर्छौं,’ उनले भने, ‘देशैभर पार्टी संगठित सदस्यहरुको संख्या १५ लाख पुर्याउने लक्ष्य छ।’
उनले अब बाँकी संगठित सदस्यको अपडेट पार्टीको महाधिवेशनपछि मात्रै हुने बताए।
‘महाधिवेशनपछि हामी खुल्ला रुपमा नै पार्टीको सदस्यता आह्वान गर्छौं। स्थानीय कमिटीले सिफारिस गरेपछि त्यसलाई भेरिफाइ गरेर संगठित सदस्य दिन्छौं,’ उनले भने।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि यही कात्तिक २७ गते एकैदिन देशैभर प्रतिनिधि छनोटको समय तोकिएको छ। एमालेले महाधिवेशन आयोजना गर्न आवश्यक खर्चको व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता र संगठित सदस्यलाई पनि आह्वान गरेको छ।
‘हरेक संगठित सदस्यसँग महाधिवेशनका लागि एक सय रुपैयाँ सहयोग गर्न आह्वान गरेका थियौं। अहिले आउने क्रम जारी छ। त्यसलाई अलि व्यवस्थित बनाएर हामी गर्दैछौं,’ तामाङले भने।
एमाले केन्द्रीय कार्यालयका अनुसार देशका ७७ मध्ये नौ जिल्लाको अन्तिम परिणाम आउन बाँकी छ। अहिलेसम्म ६८ जिल्लाको संगठित सदस्यको विवरण आएको छ।
एमालेले पार्टीलाई सशक्त बनाउन देशैभर संगठन विस्तार र सदस्यता वितरणको काम बढाइरहेको छ। सबैभन्दा धेरै संगठित सदस्य बनाएर सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्ने एमालेको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।