बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे, फाइल तस्बिर
काठमाडौं– बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन्। उनीहरुको बिहीबार बेलुका नै सपथ हुने बताइएको छ।
थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाउने बताइएको छ।
जमकट्टेल बागमती प्रदेशको पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि उनी सहितका मन्त्रीले राजीनामा दिएका थिए।
गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। त्यसैदिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा कृष्णलाल भडेल र सामाजिक विकास मन्त्रीमा नेतृ कुमारी मोक्तानलाई नियुक्त गरेका थिए।
गठनबन्धनमा आबद्ध दलको संख्या बढी र आकांक्षीको संख्या ठूलो भएपछि बागमती प्रदेशमा मन्त्रालय विभाजन गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।