काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पञ्चहरुको शैलीमा प्रस्तुत भएको बताएको छ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै पञ्चायतकाल अन्त्य हुँदा ताका जस्तै प्रधानन्यायाधीश राणाले पनि विभिन्न विचौलिया र भिजलान्ते प्रयोग गरेर 'प्रतिकार समिति' बनाएको बताएका छन्।
प्रधानन्यायाधीश राणाले हतियार सहितका सुरक्षाकर्मीलाई अदालत भित्र प्रवेश गराइ कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै बारले आपत्ति जनाएको छ।
प्रधानन्यायाधीश जबराको आदेशमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग र हातपात गर्दा कानुन व्यवसायीहरु घाइते भएका बारको विज्ञप्तिमा जनाएको छ।
प्रहरीले बल प्रयोग गर्दा बारका उपाध्यक्ष वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, बारका उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, महासचिव अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएका जनाइएको छ।
'प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भर्त्सना गर्दछ। यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहान्छौं,' बारका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानन्यायाधीश राणा अदालत र कानुन व्यवसायीबाट मात्र नभइ आम नागरिकबाटै वहिस्कृत भइसकेको उल्लेख गर्दै बारले उनीविरुद्ध थप 'कठोर कदम' चाल्न बाध्य हुने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।