काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेटका लागि प्रहरीमार्फत् खबर पठाएका छन्। तर, श्रेष्ठले आफूले एक्लै नभेट्नै भन्दै उनको प्रस्ताव अस्वीकार गरे।
राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसमा नाराबाजी गरिरहेका बेला उनले बार अध्यक्षलाई आफूसँगको भेटका लागि आउन भन्दै प्रहरीमार्फत् खबर पठाएका थिए।
प्रधानन्यायाधीशको उक्त खबरपछि आन्दोलन झन् आक्रामक बनेको छ। कानुन व्यवासायीहरूले भोलिदेखि प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले राणालाई गेटमै रोकेर भित्र छिर्न नदिने चेतावनी दिए। नेपाल बारका अध्यक्ष श्रेष्ठले पनि राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने चेतावी दिइसकेका छन्।
यसअघि बिहीबार नै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमै ‘धकेलाधकेल’ भएको थियो। त्यसक्रममा नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलसहित ६ जना कानुन व्यवासायी घाइते भएका छन्। घाइते हुनेमा पौडेल, रमण कर्ण, रक्षा वस्याल, मुकुन्द भट्टराई, प्रकाश महर्जन र कुमार शर्मा रहेका छन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कात्तिक पहिलो सातादेखि कानुन व्यवसायी आन्दोलित छन्।
बिहीबार कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा नाराबाजी समेत गरेका छन्। उनीहरूले भ्रष्ट प्रधान्यायाधीश राजीनमा देऊ, न्यायालयमा भ्रष्टाचार गर्न मिल्दैन, न्यायालय सुधार गर, अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर लगायतका नारा लगाइरहेका छन्।
यसअघि नेपाल बार एसोसिएसनले न्याय परिषद्का सदस्यहरूलाई पत्र लेख्दै प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान अनुरोध गरेको थियो।
प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश पनि इजलास बहिष्कार गरेर आन्दोलित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।