काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने तयारी गरेका छन्।
नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा बुधबार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार सर्वोच्चको मूलगेटमै बसेर आन्दोलन गर्ने जानकारी दिए।
‘हामीले उपत्यकाका सबै कानुन व्यवसायीहरुलाई १० बजे सर्वोच्चमा उपस्थित हुन भनेका छौं,’ उनले भने, ‘प्रधानन्यायाधीशलाई हामीले अब निषेध गर्न मूलगेटबाट नै प्रवेश गर्न नदिने तयारी गरेका छौं।’
उनले न्यायपालिकाको सुधारमा जो जो बाधक हुन्छन् उनीहरुविरुद्ध बार सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘बारको सीमाभित्र रहेर हामीले शान्तिपूर्ण रुपमा कार्यक्रम गरेका थियौं। हाम्रो कार्यक्रमलाई असफल गर्न प्रहरी लगाएर धरपकड गर्ने काम भएको छ,’ उनले भने,‘बिचौलियाहरुको नाइके र भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छैन। भोलिदेखि प्रवेशमा रोक लगाउछौं।’
कार्यक्रममा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले शुक्रबारदेखि आन्दोलन झन सशक्त हुने जानकारी दिए। ‘सभ्य तरिकाले धैर्यधारण गरेर विरोध जनाउँदाखेरि प्रधानन्यायाधीशले जुन हर्कत देखाइरहेका छन्, अब आन्दोलनको रुपमा परिवर्तन भएको छ,’ उनले भने।
उनले प्रधानन्यायाधीशलाई बिचौलिया र भ्रष्टाचारको नाइकेको संज्ञा दिँदै तत्काल राजीनामा दिनुपर्ने माग राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।