काठमाडौं– इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी२० विश्वकपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी २० विश्वकपको फाइनलमा पुगेको हो।
जितका लागि पाएको १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले ४७ बलमा अविजित ७२ रन बनाए। डेभोन कानवेले ४६ तथा जेम्स निसामले २७ रन बनाउँदा अन्यको प्रर्दशन उल्लेख्य रहेन।
इंग्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २/२ तथा आदिल रासिदले १ विकेट हात पारे।
त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन जोडे। ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन बनाएका थिए।
न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १/१ विकेट लिए।
यसअघि न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो। २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।
समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। पाकिस्तानसँग भने ५ विकेटले पराजित भएको थियो।
बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग न्युजिल्यान्डले फाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।