काठमाडौं- एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता बामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन्। उनले एमसीसी फिर्ता गर्नु नै नेपालको हितमा हुनेसमेत उल्लेख गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उल्लेख गरेका छन्।
‘नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा दौत्य सम्बन्ध स्थापना भएदेखि आजसम्म घनिष्ट मित्रतापूर्ण सम्बन्ध रहिआएको छ’, गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘तर, एमसीसी सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरिरहेका छन्।’
उनले एमसीसी परियोजनाले नेपालको हित भन्दा अहित हुने अवस्था देखिएको बताएका छन्। ‘नेपालमा अहिले जटिल अवस्थामा जुन सरकार बनेको छ, जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि यो सम्झौता अनुमोदन गर्न सक्ने देखिन्न’, उनले भनेका छन्, ‘यो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु। यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीय रुपमा भए पनि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबद्र्धन गर्न विनम्र अनुरोध गर्दछु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।