काठमाडौं– नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ। बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो।
त्यसका लागि एमालेले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ। सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ। त्यसले पार्टीको महाधिवेशनको खर्च पुर्याउन सकिन्छ।
‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ। ठूलो पार्टी छ। ठूलो जनसहभागिता जुटाउनु पर्नेछ। देशभरबाट प्रतिनिधिहरू आउनेछन्। विदेशी मित्रहरू पनि यसमा सहभागी हुनेछन्। र, ठूलै खर्च यो महाधिवेशनमा हुन्छ’, भट्टराईले भने, ‘त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाइन सिस्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं। यसबाट हामी महाधिवेशनको खर्च व्यवस्थापन गर्नेछौं।’
बैठकले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ। जसअनुसार मंसिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन दिउँसो १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
यो उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरू सहभागी हुने एमालेले जनाएको छ। प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तिमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरूबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताए।
बैठकले कात्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ।
महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ। प्रतिनिधिहरूका लागि त्यहीँ आसपासका लज, गेष्ट हाउसहरूमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको छ। एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिस्टम प्रयोग गर्नेछ। बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ।
इलेक्ट्रोनिक सञ्चार माध्यामहरूको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने बैठकले निर्णय गरेको छ। बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।