काठमाडौं– नेकपा एमाले सुनसरीको जिल्ला कमिटी बैठकमा माइक खोसाखोस भएको छ। पार्टी कमिटी २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर सुरु भएको विवादले बुधबारको जिल्ला कमिटी बैठकमा उग्र रुप लिएको हो।
बुधबार जिल्ला कमिटीको पूर्ण बैठकमा दुईपक्षबीच आधिकारिताको विषयलाई लिएर माइक खोसाखोस सम्मको अवस्था सिर्जना भएको छ।
१० बुँदे सहमतिअनुसार पार्टी २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर सुनसरी एमालेमा पहिलेदेखि नै विवाद रहँदै आएको छ।
२०७५ जेठ २ अगाडिको पार्टी कमिटीअनुसार सुनसरी एमालेको अध्यक्ष रमेश बस्नेत हुन्। तत्कालीन नेकपा हुँदा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा ओली पक्षले गत पुसमा सुनसरी नेकपाको अध्यक्षको जिम्मेवारी रेवतीरमण भण्डारीलाई दिएको थियो। यी दुवै पक्षबीच आधिकारिकताको विषयमा केही समयदेखि विवाद कायम छ।
बुधबारको बैठकमा भने दुईपक्षीय विवाद झनै चर्किएको हो। दुवैजनाले आफू अध्यक्ष रहेको दाबी गरिरहेका बेला बुधबार केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराइएपछि विवाद बढेको हो।
निरौलाले अध्यक्षता गरेर बोल्ने क्रममा एमाले पूर्व जिल्ला अध्यक्षसमेत रहेका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेपछि विवाद बढेको हो। चौधरीले मंगलबार नै सामाजिक सञ्जालमा बुधबारको बैठक आफ्नो अध्यक्षतामा हुने बताएका थिए।
बुधबार बैठकमा विवाद भएपछि बाहिरिएका चौधरीले विज्ञप्ति जारी गर्दै निरौलालाई जिल्ला कमिटी बैठकको अध्यता गराउने कार्यको निन्दा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।