काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई नेकपा एस र एमालेलाई नेकपा 'नो' भनेर नामाकरण गरिएको बताएका छन्। बुधबार डडेलधुरामा पार्टी प्रवेश कार्यक्रमका बोल्दै उनले नेकपा एस 'इन' भएपछि एमाले 'आउट' भएको बताए।
'हाम्रो पार्टीलाई कसैले नेकपा एकीकृत समाजवादी पनि भन्छन्, कसैले नेकपा एस पनि भन्छन्। हामीलाई नेकपा एस भन्नेले एमालेलाई नेकपा नो भन्दिँदा रहेछन्। यो एस, त्यो नो। यो इन, त्यो आउट। जब यो इन हुन्छ, अर्को आउट हुन्छ हुन्छ। अहिले नेकपा एमाले डडेल्धुरामा आउट भएको छ, नेकपा एस इन भएको छ', उनले भने।
उनले नेकपा एमाले केपी ओलीको मुठीमा गएको बताए। 'हामीले घर ठानेका थियौं। त्यो त जेल पो भएछ। जेल भएपछि विद्रोह हुन्छ कि हुँदैन?', उनले भने, त्यो घर रहेन, जेलमा परिणत भयो। हामीले विद्रोह गरेर जेलको पर्खाल तोडिदिएका छौं। नयाँ पार्टी गठन गरेका छौं।'
उनले सूर्यको कुरा गरिरहनु आवश्यक नभएको बताए। उनले सूर्य चिह्न ल्याउने नै आफू भएको बताए। 'निर्वाचन आयोगमा गएर सूर्य चिह्नका निम्ति लड्ने मान्छे मै हुँ। तर के गर्ने? त्यही सूर्यमा आज ग्रहण लागेको छ। अहिले कलम चिह्न लिएर हामी मेचीदेखि महाकालीको अभियानमा हामी उत्रिएका छौं। अब कलम चिह्न लिएर तपाईंहरु जनताको माझमा जानुपर्छ', उनले भने।
अध्यक्ष नेपालले अब जनताले कलम चिह्न नै सही र न्यायको पक्षमा उभिने चिह्न रहेछ भन्ने चिन्ने बताए। 'न्यायको आवाज बुलन्द गर्ने, सत्यको बाटोमा हिँड्नका लागि प्रेरित गर्ने, यो चिह्न लिएर एकीकृत समाजवादी जनताको मैदानमा, जनताको माझमा आएको छ', उनले भने, 'त्यसैले यो पार्टीलाई गाउँगाउँमा, टोलटोलमा, वडावडामा, पालिकापालिकामा पुर्याउनुस्।'
उनले अहिले पाँच दलको गठबन्धन रहेको र पाँचै दलको बीचमा आउने चुनावमा मिलेर जाने सहमति भएको बताए। 'केपी गुटको पत्तासाफ गर्दिनेछौं। त्यसै हुनाले त्यो पार्टी र गुटको भविष्य छैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।