काठमाडौं– उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ। दिउँसो प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।