काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।
बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना गरे।
‘२७ गतेबाट बाँकि रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ। अत्यन्तै छोटो कार्यतालिका छ। अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ। तर, एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन,' नेता सिटौलाले भने, 'यसलाई हामीले सफल बनाउनु छ, सबैले मिलेर। तर प्रतिस्पर्धा गर्नुछ। स्वच्छ प्रतिस्पर्धा गर्नुछ। आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ। र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली काँग्रेसलाई उर्तानुछ।'
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढन सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।