फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा ‘नौटंकी’ नदेखाउन चेतावनी दिएका छन्।
मंगलबार एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन चेतावनी दिएका हुन्। उनले सामाजिक सञ्जाल नभइ समितिको बैठकमा मत राख्न सुझाव समेत दिए।
मंगलबार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन्।
‘कमिटी प्रणाली छ। संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्याहरु, विचारहरु, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौँ। कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरु आउँछन्’, भट्टले भने, ‘पार्टी, मबिना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ। व्यक्ति नभए पनि पार्टी चल्छ। देश चल्छ र जीवन चल्छ। यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ।’
एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए। उनले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरुलाई मात्र खुशी बनाउने बताए।
‘कुनै किसिमको असन्तुष्टि जनता र कार्यकर्ताको बीचमा लिएर जाने कुराले कसैलाई पनि फाइदा हुनेवाला छैन। यो आन्दोलनलाई त्यसले ठूलो धोका देला। नोक्सानी पुर्याउला, विपक्षीहरु खुशी होलान्, बिरोधीहरु हौसेलान्, तर हाम्रो पार्टीपंक्तिलाई कुनै उपलब्धि हुने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।