काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन्। उनले हार्ने/जित्ने ठूलो कुरा नभएको भन्दै कार्यकर्ताको भावना अनुसार अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका हुन्।
‘ल तपाईंहरु जे भन्नुहुन्छ म त्यसैमा उठ्छु,’ उनले भने, ‘कतिपय नेता कार्यकर्ता पराजित भए के हुन्छ भनेर पनि सोध्छन्। तर, हार्ने/जित्ने ठूलो कुरो होइन।’
सम्बोधनका क्रममा उनले चुनाव लड्दा हार-जित हुने भन्दै केपी ओलीदेखि माधवकुमार नेपाल पनि पटक-पटक हारेको चर्चा गरे। उनले नेता/कार्यकर्ताको स्वाभिमान कमजोर हुन नदिने पनि बताए।
‘केही साथीहरु हारेपछि के गर्ने भनेर सोध्छन्। तर, चुनावमा लडेपछि नहार्ने को छ? केपी ओलीले आठौं महाधिवेशन हारेका होइनन् र? त्यो बेला हामी एकै प्यानलमा थियौं। म उपाध्यक्षमा हारेँ,’ उनले भने, ‘चुनावको कुरा गर्ने हो भने संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् र? अनि माधव नेपालले काठमाडौंबाट हारेका होइनन् र? हार्ने कुरा के ठूलो कुरा भयो र!’
उनले १०औं महाधिवेशनमा कार्यकर्ताको स्वाभिमान र भावनालाई झण्डाझैँ बलियो गरेर समात्ने भन्दै हार्ने/जित्नेको चिन्ता नलिन आग्रह गरे।
उपाध्यक्ष रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजान १० बुँदे सहमति कार्यान्वयन गरौं भन्दा अध्यक्ष आफैंले सही गरेको अपानि १२ जारी कार्यान्वयन नभएको बताए।
‘अब हामीले भन्दा पनि मानेन भने के गर्ने भन्नुहोला,’ उनले भने, ‘मानेन भने उनले जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्ने र संघर्ष जारी राख्नुपर्छ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने आफूहरुको एकमात्र धारणा रहेको बताए। आजै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई अवैध भनेका रावलले त्यहाँ भएका निर्णय अमान्य हुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।