काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा 'पैसामा लिप्त' भएको आरोप लगाएका छन्। प्रधानन्यायाधीश राणा पैसामा लिप्त भएका कारण अदालतको यो (दयनीय) अवस्था भएको उनको भनाइ छ।
संवैधानिक कानुन व्यवसायी मञ्चले आयोजना गरेको 'न्यायपालिकाको वर्तमान संकट र निकास' विषय कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश राणा आर्थिक विचलनमा लिप्त भएको बताए।
‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो। आर्थिक विचलनमा लिप्त हुनुभयो,’ थापाले भने, ‘हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस्। कि त्यसका सत प्रतिशत कुरा गलत छ भन्नुस्, होइन भने बोल्नुस् ।’
उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानुन व्यवसायीलाई आह्वान गरे।
‘प्रधानन्यायाधीशले भ्रष्टाचारीलाई जोगाउनुहुन्छ भन्ने होइन, आफैं भ्रष्टाचार गर्नुहुन्छ भनेर बोल्नुस्,’ उनले भने, ‘थाहा छैन भने नबोल्नुस्। थाहा भएर पनि बोल्नुहुन्न भने ठीकै छ। यदि शुद्ध छन् भने मलाई कन्भिन्स्ड गर्नुस्,’ थापाले भने ।
न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको अवस्थामा पुगेको थापाले टिप्पणी गरे । ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर। त्यहाँ त करोड घटीको कुरै हुँदैन। अर्ब–अर्बको कुरा छ।’ तराईंका जिल्लामा पारिपट्टी गएर घुस लिने गरेको भन्दै थापाले यस्तो न्यायाधीशलाई नै प्रधानन्यायाधीशले संरक्षण र बढुवा गर्ने गरेको उनले आरोप लगाए।
राजनीतिज्ञलाई विग्रेको अदालत चाहिएको भन्दै थापाले आफ्नो कुरा लाद्न सप्रेको अदालत नचाहिने उनले टिप्पणी गरे।
पूर्वन्यायाधीश बलराम केसी, टोपबहादुर सिंहलाई 'न्यायाधीशको न्यायाधीश' भन्दै थापाले उनीहरुले गरेको टिप्पणीमा मात्र बारले बोलेको दाबी गरे।
‘यो फिलोसपी सब बेकार हो। चोलेन्द्र शमशेरले न एउटा किताव पढेका छन्, न जानेका छन्,’ थापाले भने, ‘मैले उहाँको एक जनालाई सोधेको खै किताव पढेको त देखेको छैन भने।’ अब को बस्ने वा को रहने नभइ भ्रष्टाचारीको पक्षमा को हुने र को नहुने प्रश्न रहेको थापाले पनि बताए।
थापाले दिपक तिमल्सिना हुँदैन र गजेन्द्र हमाल हुन्छ भनेर प्रधानन्यायाधीशले त्यही समयमा भन्नु र नियुक्त हुनु आफैंमा संयोग मात्र नभएको उनले टिप्पणी गरे। यो नियुक्तिलगत्तै 'नेपाल बार पनि छ र?' भन्ने प्रश्न उठेपछि सबै एक ठाउँमा आएको उनले बताए।
‘न्यायाधीश नै विचौलिया छन् भनेर प्रतिवेदन दिएपछि कुन न्यायाधीशले विचौलियाको काम गर्नुभयो भनि सोध्न सक्नुभयो?’ थापाले भने, ‘मेरो प्रधानन्यायाधीशमाथि प्रश्न छ यस्तो प्रतिवेदन दिने न्यायाधीश हरिकृष्ण कार्कीलाई को हो भनेर किन सोध्नु सक्नुभएन? हिजो वकालतनाम चलेको छैन। आज न्यायाधीश कसरी हुन सम्भव भयो।’
जसले कानुनको किताब पल्टाएकै छैन, उसले विचौलिया नगरे अरु के गर्ने भन्दै थापाले तीन पाने खानेले अरु केही गर्न नसक्ने र यस्तो पनि न्यायाधीश कसरी भयो भन्दै राणालाई प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।