काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफैंलाई समस्या हुनेभएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन नगरेको आरोप लगाएका छन्।
नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रम अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतका १९ जना न्यायाधीशको बीचमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्छु भनेर प्रधानन्यायाधीश राणाले भनेको भएपनि आफैंलाई समस्या पर्ने भएपछि त्यसलाई लत्याएको आरोप लगाएका छन्।
'प्रतिवेदन हेरेपछि त उहाँले बिचौलिया झाँगिन नपाउने, सम्पत्ति सार्वजनिक गर्नुपर्ने लगायत भएपछि त उहाँ अत्तालिनुभयो। पहिले प्रतिवेदन नहेरेर नै सार्वजनिक र कार्यान्वयन गर्छु भने तर, पूरै पढेपछि त आफैंलाई समस्या हुनेभएपछि त्यसलाई लत्याइदिनु भयो' श्रेष्ठले भने।
राणाले आलोचनाबाट बच्नका लागि जे पनि हुन्छ भनिदिने गरेको उनको आरोप थियो। भदौं १६ गतेदेखि गोलाप्रथा गर्छु भनेको भएपनि आफूहरुलाई छलछाम गर्नका लागि त्यसो भनिएको देखिएको श्रेष्ठले बताए।
राणा बिचौलियाको नाइके भएको उनको आरोप थियो। 'हरिकृष्ण कार्कीले मलाई सल्लाह नै नलिएर प्रतिवेदन दिएछ, भनेर एउटा कार्यक्रममा उनले भनेछन्। बिचौलियालाई प्रोत्साहन दिन, भ्रष्टाचार झांगिन दिनका लागि प्रतिवेदन कार्यान्वयन गर्न खोजिएन' श्रेष्ठले भने।
न्यायापालिका सुधारको काम छाडेर कार्यपालिकामा भाग लिन जाने काम राणाले गरेको बताउँदै श्रेष्ठले भने, 'यसले न्यायापालिकाको स्वतन्त्रता, निष्पक्षता कायम हुन्न। त्यसै भएर हामीले प्रधानन्यायाधीशले राजीनामा नदिएर समस्या समाधान हुँदैन भनेर मागेका हौं।'
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाको राजीनामा बाहेकले अहिलेको समस्याको समाधान नहुने बताए। 'राणाको राजीनामा मात्रै विकल्प होइन। हामी पनि सच्चिनु आवश्यक छ। अहिलेको आन्दोलन पहिलो र अन्तिम हुनुपर्छ न्यायापालिकाको समग्र सुधारका लागि हामी अब पछि हट्नु हुँदैन' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।