फाइल तस्बिर।
काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुको विकल्प नरहेको बताएका छन्।
उनले गलत मान्छेलाई नेतृत्व सुम्पिँदा न्यायालयको गरिमा नै समाप्त भएको टिप्पणी गरे। न्यायालय सुधारका लागि राणासँग पर्याप्त समय भएपनि उनले केही गर्न नसकेको केसीको भनाइ छ।
‘अहिलेको प्रधानन्यायाधीशको कार्यकाल ४ वर्ष थियो। उहाँलाई कस्तो अवसर थियो न्यायालय सुधार्ने। तर, उहाँले त्यो गर्न नै सक्नु भएन। विगतका कमिकमजोरी पनि सुधार गरेर न्यायापालिका सुधारेर अर्को व्यक्तिलाई हस्तान्तरण गर्ने अवसर गुमाउनुभयो। उहाँले पदको गलत प्रयोग गर्नुभयो’, मंगलबार नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रममा केसीले भने।
न्यायालय अहिलेको अवस्थाबाट गुज्रिनुमा संसदीय सुनुवाइ समितिदेखि लिएर विभिन्न क्षेत्रको दोष रहेको उनले बताए। तर, अब राणाले राजीनामा दिनु नै उपयुक्त हुने केसीले सुझाए।
‘अवान्छित पाहुना भएर बस्ने कि के गर्ने भन्ने उहाँको कुरा हो। पाँच-सातवटा चार्ज अहिले लागेको छ। प्रधानन्यायाधीशमाथि यति धेरै चार्ज लागिसकेपछि उहाँले नैतिकताको आधारमा छोड्नु नै उत्तम हुने थियो’, केसीले भने, ‘नैतिकता देखाउन सक्नुपर्छ। महाअभियोग लगाउनुस् अनि जान्छु भन्ने कुरो नै होइन। १९ जना न्यायाधीशले नै छोड्नुस अब तपाईंसँग टाँसिन सक्दैनौं भनिसकेपछि बुझ्नुपर्दैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।