काठमाडौं– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपका पीडित परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर घटनाका पीडित (मृतक)का परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारले मृतक परिवारलाई राहत र किरिया खर्च गरी प्रतिपरिवार ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। ५ लाख रुपैयाँ राहत र ५० हजार रुपैयाँ किरिया खर्च दिने निर्णय भएको जनाइएको छ।
गत असोज २४ गते सरकारले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउँदा जग्गा कब्जा गरेर बसेका व्यक्तिको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएको थियो।
मंगलबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेको पनि जानकारी दिए।
मन्त्री कार्कीले पर्वतको कुस्मामा ४ सय केबी क्षमताको विद्युतीय सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए। यस्तै, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्राकिंत विशिष्ठ श्रेणीको पद (सचिव)मा निरु दाहाल पाण्डेलाई बढ्वा गर्ने पनि सरकारले निर्णय गरेको छ।
कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृती दिने निर्णय भएको पनि कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वल्र्ड हेल्थ एसेम्ब्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय समेत भएको जानकारी दिए।
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।