काठमाडौं– सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको हो।
प्रदेश १ को प्रमुखमा सिफारिस खापुङ नेकपा एकीकृत समाजवादी निकट हुन् भने कर्णालीको प्रमुख सिफारिस भएका परियार माओवादी केन्द्र निकट हुन्। यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुखमा सिफारिस भएका जोशी कांग्रेस निकट हुन्।
कर्णाली प्रदेश प्रमुखमा सिफारिस भएका परियार यसअघि प्रदेश २ को प्रमुख थिए। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुख बनाएको थियो।
ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक प्रदेश प्रमुख फेर्ने निर्णय भएको हो।
यसअघि प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख फेरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।