काठमाडौं- मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रणाले १० वटा इजलास तोकेकोमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेका अरु इजलास बहिष्कार गरे।
राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोकेका थिए। तर, न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको एउटा बाहेक अरु मुद्दामा सुनुवाइ गरेनन्। तर, न्यायाधीशहरूको बहिष्कारकैबीच राणाले भने आफ्नो इजलासमा मुद्दाको सुनुवाइ गरेका छन्।
कात्तिक ८ गते देखि राजीनामा माग गर्दै सहकर्मी १९ न्यायाधीशहरुले आफूले तोकेको इजलासमा नआएपछि राणा आफैंले मात्र सुनुवाइ गरेका हुन्। राणाले मंगलबार एकल र संयुक्त गरी १० वटा इजलास तोकेपनि बन्दी प्रत्यक्षीकरणको एउटा मात्र मुद्दा पेसीमा रहेको थियो। न्यायाधीशहरू तेजबहादुर केसी र मनोज शर्माको इजलासमा बन्दीको एउटा मुद्दा थियो। उक्त मुद्दा सुनुवाइ गरेपनि न्यायाधीशहरूले अन्य मुद्दाको सुनुवाइ भने बहिष्कार गरे।
आन्दोलनरत न्यायाधीशहरूले बन्दीको मुद्दा सुनुवाइ गर्ने र प्रधानन्यायाधीशसँग इजलास सेयरिङ नगर्ने सहमति अनुसार मंगलबार अन्य मुद्दा नहेर्ने भएपछि मुद्दा बेञ्च नबसेको भन्दै स्थगित गराएका छन्।
तर, प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा आफैंले तोकेका सात थान मुद्दामध्ये ६ थानमा सुनुवाइ गर्दै आदेश गरेका छन्। एक थान मुद्दा हेर्न नमिल्ने भएपछि अन्य मुद्दामा उनले सुनुवाइ गरेका हुन्। राणाले तीन वटामा कारण देखाऊ आदेश, एउटामा कैफियत प्रतिवेदन माग्ने र एउटामा तामेलीमा पठाउने आदेश गरे।
राणाले यसअघि आन्दोलनरत न्यायाधीशहरूसँग आफ्नो इजलास नतोक्ने र बन्दीका मात्र मुद्दा तोक्ने सहमति गरेका थिए। तर, उनी यो सहमतिबाट पछि हटेपछि न्यायाधीशहरू सामूहिक रूपमा छलफलमा बसेर ठोस निष्कर्ष निकाल्ने तयारीमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।