काठमाडौं- वरिष्ठ अधिवक्ता गुणनीधि तिवारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले नेतृत्व गरेको संस्था चलाउन नसकेकाले कुर्सीमा बस्न नहुने बताएका छन्।
मंगलबार नेपाल बार एसोसिएसनमा आयोजित बिरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता तिवारीले राणा प्रधानन्यायाधीश भएदेखि नै असफल भएको टिप्पणी गरे।
नेपाल बारले आह्वान गरेको आन्दोलनको छैठौं दिन चलिरहेको भन्दै उनले यसलाई कानुन व्यवसायी, नागरिक समाजले महत्वपूर्ण रुपमा हेरिरहेको बताए।
बेञ्च गठन गर्ने तर, त्यो सञ्चालन हुन नसक्ने अवस्थाले राणा दलदलमा फसिरहेको उनको भनाइ थियो। न्यायपालिकाका प्रमुख भएर कार्यपालिकामा भाग खोज्नु गलत भएको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनले बताए।
'जनताले न्याय पाउने काममा सिनियर न्यायाधीशहरुलाई बाहिर राखेर कनिष्ठ न्यायाधीशको बेञ्च गठन गरेर मानमर्दन गरेको अवस्था छ। अब सर्वोच्च मात्रै होइन, उच्च अदालत र जिल्ला अदालतसम्म पनि प्रधानन्यायाधीशविरुद्धको आन्दोलन अघि बढ्ने छ' उनले भने, 'छिटो भन्दा छिटो राजीनामा दिएमा उहाँलाई नै राम्रो हुने हो, नत्र उहाँलाई नै घाँटा हुने हो।'
राजनीतिक दलहरुले पनि प्रधानन्यायाधीशको बर्हिगमनका विषयमा पनि धारणा राख्ने अपेक्षा रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।