काठमाडौं- सर्वोच्चका अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तोकेका इजलास बहिष्कार गरेका छन्। राणाले मंगलबारका लागि १० इजलास तोकेका थिए।
त्यसमध्ये न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा रहेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ भएको छ। बाँकी इजलास न्यायाधीशहरूले बहिष्कार गरेका छन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरू आन्दोलनमा उत्रिएका छन्। राणाले सहमति उल्लंघन गरेको, आफूहरूलाई पेल्न खोजेको र आफ्ना मागलाई बेवास्ता गरेको भन्दै न्यायाधीशहरू थप रुष्ट बनेका छन्।
सोमबार न्यायाधीशहरूले बन्दीका मुद्दा हेर्ने, प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ नगर्ने र अन्य मुद्दा पनि नहेर्ने निर्णय गरेका थिए।।
तर, सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला राणाले मंगलबारका लागि १० इजलास तोकिदिए।
राणाले न्यायाधीशहरूको संयुक्त इजलास तोक्दा आफ्नो एकल इजलास समेत तोकेका थिए।
कात्तिक ८ गते इजलास बहिस्कार गरेका न्यायाधीशहरुले एक सातापछि बन्दीको मुद्दामा सुनुवाइ थालेका थिए। उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन थालेको ११ दिन भइसकेको छ। उनीहरुले प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न उठेको र नेतृत्व गर्न असक्षम रहेकाले उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन्।
सर्वोच्चमा प्रधानन्यायाधीश राणा एकातिर छन् भने अरु १९ न्यायाधीश एकातिर छन्। सोमबार पनि राणाले ६ वटा इजलासमा पेसी तोकेका थिए। राणाले यसअघि आफू बाहेकको इजलास तोक्ने बताएको सहमतिबाट पछाडि फर्केर संयुक्त इजलास तोकेका थिए। सोमबार न्यायाधीश कुमार चुडाल र आफ्नो संयुक्त इजलास तोकेका थिए।
न्यायाधीशहरुको सामूहिक छलफलपछि चुडाल आफ्नो एकल इजलासमा पुगेका थिए। उनले कारण देखाऊ आदेश जारी गरेका थिए। उनी प्रधानन्यायाधीश राणासहितको संयुक्त इजलासमा भने गएनन्। लगत्तै अरु न्यायाधीशहरुले पनि बन्दीको मुद्दा सुनुवाइ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।