काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रणाले मंगलबारका लागि पेसी तोकेका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला राणाले मंगलबारका लागि १० इजलास तोकेका छन्।
राणाले न्यायाधीशहरुको संयुक्त इजलास तोक्दा आफ्नो एकल इजलास तोकेका छन्। प्रधानन्यायाधीशले नियमित मुद्दामा पेसी तोकेपछि न्यायाधीशहरु इजसालमा बस्नेमा अन्योल रहेको जनाइएको छ।
न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणमात्र हेर्ने र राणासँग इजलास शेयर नगर्ने न्यायाधिशहरुले निर्णय गरेका छन्। उनीहरुले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ नरोक्ने र प्रधानन्यायाधीश राणासँग ‘बेञ्च सेयरिङ’ नगर्ने निर्णय सोमबार गरेका थिए।
छलफलमा सहभागी एक न्यायाधीशका अनुसार बन्दीका गम्भीर मुद्दा भएकाले त्यसलाई कुनै बाधा नपुर्याइ सुनुवाइ गर्ने तर अन्य मुद्दा तोकेमा नहेर्ने निर्णय भएको छ।
कात्तिक ८ गते इजलास बहिस्कार गरेका न्यायाधीशहरुले एक सातापछि बन्दीको मुद्दामा सुनुवाइ थालेका थिए। उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन थालेको ११ दिन भइसकेको छ। उनीहरुले प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न उठेको र नेतृत्व गर्न असक्षम रहेकाले उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन्।
सर्वोच्चमा प्रधानन्यायाधीश राणा एकातिर छन् भने अरु १९ न्यायाधीश एकातिर छन्। सोमबार पनि राणाले ६ वटा इजलासमा पेसी तोकेका थिए। राणाले यसअघि आफू बाहेकको इजलास तोक्ने बताएको सहमतिबाट पछाडि फर्केर संयुक्त इजलास तोकेका थिए। सोमबार न्यायाधीश कुमार चुडाल र आफ्नो संयुक्त इजलास तोकेका थिए।
न्यायाधीशहरुको सामूहिक छलफलपछि चुडाल आफ्नो एकल इजलासमा पुगेका थिए। उनले कारण देखाऊ आदेश जारी गरेका थिए। उनी प्रधानन्यायाधीश राणासहितको संयुक्त इजलासमा भने गएनन्। लगत्तै अरु न्यायाधीशहरुले पनि बन्दीको मुद्दा सुनुवाइ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।