काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताएका छन्। विभागले आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताएका हुन्। दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत उनले बताए।
औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको सो अवसरमा उनले जानकारि दिए। मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताए।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताए। उनले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिए।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताए। उनका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन्।
उनले २०७२ सालमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ३२८ जनाको दरबन्दी प्रस्ताव गरे पनि अझै स्वीकृत नभएको बताए। कम दरबन्दीले गर्दा विभागले राम्रोसँग काम गर्न नसकेको उनले बताए।
विभागमा २० हजार ब्रान्डका औषधि र १५ हजार व्यवसायी दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।