काठमाडौं– सर्वोच्च अदालतमा देखिएको विवादबारे सत्तारुढ गठबन्धन अझै 'अनिर्णित' बनेको छ। लामो समयपछि सोमबार बसेको गठबन्धनको बैठकमा सर्वोच्चको विवादबारे छलफल नै नभएको नेताहरुले जानकारी दिएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु झन्डै ३ हप्तादेखि आन्दोलित छन्। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन घोषणा गरेको छ।
आन्दोलनमा रहेका कानुन व्यवसायीले न्यायलयको विवादका सन्दर्भमा राजनीतिक तहबाट कुनै न कुनै निर्णय हुनुपर्ने माग गर्दै आएका छन्। तर, सत्तारुढ गठबन्धनको सोमबार साँझ बसेको बैठकमा भने सर्वोच्चबारे कुनै ठोस छलफल भएन।
बैठकमा सहभागी एक नेताका अनुसार केही नेताले सर्वोच्चबारे प्रसंग उठाएका थिए। तर, उक्त विषयमा शीर्ष तहमा छलफल गरेर आवश्यक निर्णय लिइने भनिएपछि अरु विषयमा छलफल चलेको ती नेताले जानकारी दिए।
‘अदालतमा देखिएको विवादका बारेमा सामान्य कुराकानी भए पनि शीर्ष नेताहरु बसेर यसबारे छलफल गर्ने भन्ने मात्रै कुराकानी भयो,’ ती नेताले भने, ‘सायद नेताहरुले छिट्टै यस बारेमा बैठक बसेर कुनै ठोस निष्कर्ष निकाल्नुहुन्छ होला।’
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशरुले कात्तिक ७ गतेदेखि 'आन्दोलन' शुरु गरेका थिए।
सर्वोच्चमा आन्दोलन सुरु भएपछि गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बैठक बसेर छिट्टै निर्णय लिइने बताएका थिए।
तर, प्रचण्ड र नेपालले भनेजस्तो सोमबार बसेको गठबन्धनको बैठकले न्यायलयमा जारी विवादबारे कुनै निर्णय गरेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।