काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कारलाई निरन्तरता दिने भएका छन्। सोमबार सामूहिक छलफल गरेका उनीहरूले दुई वटा निर्णय गरेका छन्।
उनीहरुले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ नरोक्ने र प्रधानन्यायाधीश राणासँग ‘बेञ्च सेयरिङ’ नगर्ने निर्णय गरेका छन्। छलफलमा सहभागी एक न्यायाधीशका अनुसार बन्दीका गम्भीर मुद्दा भएकाले त्यसलाई कुनै बाधा नपुर्याइ सुनुवाइ गर्ने तर अन्य मुद्दा तोकेमा नहेर्ने निर्णय भएको छ।
कात्तिक ८ गते इजलास बहिस्कार गरेका न्यायाधीशहरुले एक सातापछि बन्दीको मुद्दामा सुनुवाइ थालेका थिए। उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन थालेको १० दिन भइसकेको छ। उनीहरुले प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न उठेको र नेतृत्व गर्न असक्षम रहेकाले उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै आएका छन्।
सर्वोच्चमा प्रधानन्यायाधीश राणा एकातिर छन् भने अरु १९ न्यायाधीश एकातिर छन्। सोमबार पनि राणाले ६ वटा इजलासमा पेशी तोकेका थिए। राणाले यसअघि आफू बाहेकको इजलास तोक्ने बताएको सहमतिबाट पछाडि फर्केर संयुक्त इजलास तोकेका थिए। सोमबार न्यायाधीश कुमार चुडाल र आफ्नो संयुक्त इजलास तोकेका थिए।
न्यायाधीशहरुको सामूहिक छलफलपछि चुडाल आफ्नो एकल इजलासमा पुगेका थिए। उनले कारण देखाऊ आदेश जारी गरेका थिए। उनी प्रधानन्यायाधीश राणासहितको संयुक्त इजलासमा भने गएनन्। लगत्तै अरु न्यायाधीशहरुले पनि बन्दीको मुद्दा सुनुवाइ गरेका थिए।
‘हामीले बन्दीको मुद्दा सुनुवाइ गर्दै मुद्दा सुन्न तयार रहेको तर प्रधानन्यायाधीशको राजीनामा अडिग रहेको सन्देश दिएका छौं’ एक न्यायाधीशले भने ‘तर, अन्य मुद्दामा पेसी तोकिएमा र प्रधानन्यायाधीशसँगको बेञ्च सेयरिङ हुँदैन।’
न्यायालय सुधारको विषयमा सबै न्यायाधीशहरू एक ठाउँमा रहेको भन्दै ती न्यायाधीशले आफूहरू यसअघिकै बटमलाइनमा भएको बताए।
प्रधानन्यायाधीशनिकट स्रोतले भने भोलिदेखि नियमित मुद्दाको पेसी तोकिने बताएको छ। ‘प्रधानन्याायाधीश राणा अब दैनिक मुद्दाको पेसी तोक्दै सुनुवाइ गर्ने पक्षमा हुनुहुन्छ’ स्रोतले भन्यो ‘मुद्दाको सुनुवाइ नहुदाँ सेवाग्राही अन्यायमा परेका छन्। यस्तो हुदाँ राम्रो सन्देश गएको छैन। अब मुद्दाको सुनुवाइ नियमित हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।