काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभामा सोमबार भएको मतदानमार्फत् उनले आफ्नो पक्षमा बहुमत सिद्ध गरेका हुन्।
पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ५९ मत परेको थियो। त्यस्तै, प्रस्तावको विपक्षमा ४३ र तटस्थमा २ मत परेको थियो। मतदानमा १०४ जना सांसद उपस्थित भएका थिए।
बागमती प्रदेश सभाको आकार ११० सदस्यीय भएपनि एमाले सांसद् पशुपति चौलागाईंको निधन भएपछि अहिले १०९ जना मात्रै सांसद छन्। जसमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका तर्फबाट स्वतन्त्र सांसद एक जना छन्।
सोमबार भएको मतदानमा एमाले र विवेकशील साझाले विपक्षमा मत दिएको थियो। त्यस्तै, नेमकिपा तटस्थ बसेको थियो। मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा ती पार्टीका सांसद्हरुले आफ्नो पार्टीको 'पोजिसन' प्रष्ट पारेका थिए।
नेपालको संविधानको धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। सोही अनुसार पाण्डेले विश्वासको मत लिएका हुन्।
कात्तिक १० गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। राजेन्द्र पाण्डेले माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक गरी ५९ जना सांसद्को हस्ताक्षरसहित १० गते नै दाबी पेश गरेका थिए।
उनलाई कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो। त्यसैदिन उनले शपथ लिएका थिए र सानो आकारमा मन्त्रिपरिषद् गठन गरेका थिए। उनको मन्त्रिपरिषद्मा अहिले उनीसहित कृष्णप्रसाद शर्मा खनाल (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), कुमारी मोक्तान (सामाजिक विकास मन्त्रालय) र कृष्णलाल भँडेल (भौतिक पूर्वाधार विकास मन्त्रालय) छन्। खनाल एकीकृत समाजवादी, मोक्तान माओवादी केन्द्र र भँडेल नेपाली कांग्रेसबाट मन्त्री भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।