काठमाडौं– भारतमा उपचार गरेपछि स्वास्थ्यलाभ गरिरहेका नेकपा एकीकृत समाजवादी पार्टीका 'सम्मानित नेता' झलनाथ खनाल पार्टी काममा फर्किएका छन्।
नेता खनाल सोमबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म काठमाडौंको मीनभवनस्थित पार्टी मुख्यालयमा उपस्थि भए। सोमबार उनी आफू प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा समेत सहभागी भएका एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार नेता खनालले विदेश विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरे। खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायत प्राविधिक विषयमा जानकारी लिएका पनि खतिवडाले जानकारी दिए।
गत साउन २० गते भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरेर बस्नुभएको थियो। मिर्गौला उपचारका क्रममा सुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाल त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका लागि गत असार २ गते दिल्लीस्थित अपोलो अस्पताल गएका थिए।
दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि उनी गत भदौ १४ गते स्वदेश फर्किएका थिए। चिकित्सकहरुले ३ महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिमा उनी कुनै पनि कार्यक्रममा सहभागी भएनन्।
चिकित्सकले भनेको आराम गर्ने अवधि सकिए पनि नेता खनाल अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने खतिवडाले जानकारी दिए। तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने जनाइएको छ।
नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनी एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए। तर, पार्टी कार्यालय स्थापना भएपछि भने उनी पहिलोपटक कार्यालयमा उपस्थित भएका हुन्। नेता खनाल अब नियमित रुपमा कार्यालयमा रहने खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।