काठमाडौं– विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ। सोमबार विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सो पार्टीका संसदीय दलका नेता रमेश पौडेलले आफ्नो पार्टीले विश्वासको मत नदिने स्पष्ट पारेका हुन्।
उनले मुख्यमन्त्री पाण्डेले मन्त्रालय विभाजन गर्न खोजेको खबरहरु सार्वजनिक भएको भन्दै आलोचना गरेका थिए। 'यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले जनताले सोचेअनुसार काम गर्न सकेन भन्ने कुरामा मुख्यमन्त्री पाण्डे र हामीहरु सँगै थियौं', उनले भने, 'अहिले आर्थिक भार बढ्ने गरी किन मन्त्रालय विभाजन गर्नुपर्यो?'
विवेकशील साझाका नेता पौडेलले सरकार मितव्ययी हुनुपर्ने भन्दै औचित्य पुष्टि हुननसक्ने भएकाले पाण्डेको पक्षमा विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन्। उनले पछि गुण र दोषको आधारमा आफ्नो धारणा राख्ने बताए।
एमालेले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने बताएको छ। प्रस्तावमाथि बोल्दै एमालेका दीपक निरौलाले आफूहरुले विश्वासको मत नदिने स्पष्ट पारेका हुन्।
'यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक र असंवैधानिक हो। त्यसकारण यो असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई विश्वासको मत दिइराख्नुपर्ने हाम्रो दलले आवश्यकता ठानेको छैन', उनले भने, 'यसर्थ, हामी हाम्रो दलको तर्फबाट यो सरकारलाई विश्वासको मत जाहेर गर्न नसक्ने व्यहोरा निवेदन गर्दछु।'
माओवादी केन्द्रका तर्फबाट सम्बोधन गरेका शालिकराम जमकट्टेल र कांग्रेसका तर्फबाट बोलेका ईन्द्र बानियाँले भने पाण्डेलाई विश्वासको मत दिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।