काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको कमिटी गठन नभएको वडामा बजेट नदिने बताएको प्रति नेकपा एमालेले आपत्ति जनाएको छ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट बोल्न पुगेका सांसद दिपक निरौलाले पाण्डेको भनाइले मौलिकको हकको समेत हनन भएको उल्लेख गरे।
‘मुख्यमन्त्रीले कतै बोलेको कुरा आज बिहान युट्युबमा सुनें। उहाँले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन नभएको वडामा बजेट नदिने बताउनुभएको रहेछ,’ उनले भने, ‘कुन–कुन वडामा बजेट दिनुहुन्न। कहाँ कहाँ रोक्नुहुन्छ? कुनै अमुक पार्टीको वडा कमिटी गठन नभएकोमा जनता विकासबाट बञ्चित हुनुपर्ने? मौलिक हकबाट बञ्चित हुनुपर्ने?’
मुख्यमन्त्री पाण्डेको यस्तो बुझाइले सँगै रहेका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पछुताउनुपर्ने दिन आउने उनको भनाइ थियो।
पाण्डेको पार्टी भर्खर जन्मिएकाले राजनीतिक संस्कारको जानकारी नभएको दर्शाउँदै सिकाइदिन सत्ता सहयात्री कांग्रेससँग आग्रह गरे। उनले मुख्यमन्त्री पाण्डेमाथि व्यंग्य गरे, ‘उहाँ त भर्खर हिँड्न सिक्दै हुनुहुन्छ। पाखुरामा बल लागेकाले हिँड्न सिकाइदिनुहोस्। हिँड्न नजान्नु उहाँको दोष होइन, हिँडाउनेको हो। तपाईंहरु ताते कसरी गराउँदै हुनुहुन्छ? जनताले हेरिरहेका छन्।’
राज्यको ढुकुटी कुनै पार्टीको वडा कमिटी गठनका लागि खर्च गर्न खोजिएको भन्दै आपत्ति जनाए। निरंकुश शासन व्यवस्था जस्तो हुन थालेको बताए।
उनले प्रश्न गरे, ‘हामी यसैका लड्यौं, यही भन्छ संविधानले? एक दलको कमिटी बनाउन ढुकुटी सकाउने? प्रजातन्त्र भनेर लेखेका भरमा, मुकुन्डो लगाएका भरमा प्रजातन्त्रवादी भइन्छ त?’
मुख्यमन्त्रीस् पाण्डेले समर्थन गर्नुपर्ने कारण समेत उल्लेख नगरेको बताउँदै विश्वासको मत नदिने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।