काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव पेश गरेका छन्। सोमबारको प्रदेश सभा बैठकमा उनले प्रस्ताव पेश गरेका हुन्।
मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण आफूले प्रस्ताव पेश गर्न सभामा उपस्थित भएको पाण्डेले बताए। 'यस सभामा उपस्थित सम्पूर्ण राजनीतिक दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सबै दललाई मलाई विश्वासको मत दिएर यो सरकारलाई अगाडि बढ्न हौसला र साथ दिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु', उनले भने।
आफ्नो प्रस्तावसँगै उनले प्रदेश सभासमक्ष केही प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 'यस प्रदेशको हैसियत माथि उठाउन, प्रदेशका सम्पूर्ण सदस्यको स्वाभिमान उँचो बनाउन, प्रदेशलाई प्राप्त स्रोतको सही सदुपयोग गरी जनपक्षीय मागलाई सम्बोधन गर्न, फजुल खर्च घटाउने र प्रदेशको आम्दानी बढाउने काम गरी प्रदेश गौरवका कामलाई सम्पन्न गर्न ध्यान दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। भ्रष्टाचार नियन्त्रण गर्नु र सुशासन कायम गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ', उनले भने।
कात्तिक १० गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक गरी ५९ जना सांसद्को हस्ताक्षरसहित १० गते नै दाबी पेश गरेका थिए। उनलाई कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।